Pages

Subscribe:


रुद्र खड्का, नेपालगन्ज, चैत २९- 'म एकैछिनमा आउँछु,' सेतु विकले घरबाट निस्कँदै भनिन्, 'भाइहरूलाई हेर्दै गर्नू!'

बिहानको ९ बजेको थियो। अरू बेला पनि आमा बिहानै घरधन्दा सकेर बाहिरिँदा दुई भाइको रेखदेखको जिम्मा ९ वर्षे जेठा छोरा आशिषकै हुन्थ्यो।

आशिषलाई ७ वर्षको माइलो भाइ सागरलाई हेर्न खासै समस्या भएन। तीन वर्षको कान्छो सुमनले भने निकै दुःख दियो। प्याँप्याँ रोएर हैरान! जति गर्दा पनि मानेन। आमाले जस्तै आङमा लिएर हिँड्यो। आमाले जस्तै यतिउति डुलाएर भुलाउन खोज्यो। आमाले आमाले जस्तै कहिले घोडा र कहिले हात्ती बनेर देखायो। अनि, आमाले जस्तै बाँदर र मदारीको चटक देखाएर हँसाउन खोज्यो। तैपनि, ऊ हाँसेन। बरु रुँदारुँदा थाकेर विस्तारै कुइँकुइँ गर्दै घुप्लुक्क निदायो। ऊसँगै माइलो भाइ सागर पनि सुत्यो। र, ऊ पनि पल्ट्यो छेवैमा।

२०६३ वैशाख ५ गते त्यो घरमा दिउँसै रात पर्‍यो। एकछिन आमा नहुँदा पनि केटाकेटी कति बेसाहरा हुन्छन्!

...

त्यो बिहानै गाउँबाट हुलका हुल मान्छे नेपालगन्ज आएका थिए।

धेरै दिनदेखिको जनउभार र लोकतन्त्रको नाराले सेतुलाई सडकतिर तानेको थियो। त्यतिखेर पति शेरबहादुर गुजरात (भारत) गएका थिए, काम गर्न।

बागेश्वरी-३ क गाउँ बस्ने सेतु सरासर १२ किलोमिटर परको नेपालगन्जतिर लम्किन्।

जनआन्दोलन उत्कर्षमा थियो। आन्दोलनकारीहरू न्युरोडमा तत्कालीन राजा ज्ञानेन्द्रको निर्माणाधीन सालिक भत्काउँदै थिए।

प्रहरीले ड्याम्म अश्रुग्यास हान्यो। अश्रुग्यासको सेल भीडमा रहेकी सेतुको मुखैमा लाग्यो। उनी भुक्लुक्कै भुइँमा पछारिन्। सबै आन्दोलनकारी सोहोरिएर वरिपरि घेरे। उनको जीउमा हलचल थिएन। सास अड्किरहेको थियो।

एकछिनमा पिर्लिक्क आँखा उघारिन्।

भनिन्, 'पानी ...!'

...

आशिष झसङ्ग ब्युँझे।

वैशाख मासको गर्मीले शरीर पसिनाले लुथ्रुप्पै भिजेको थियो। दायाँबायाँ हेरे, भाइहरू मस्त निद्रामै थिए। झ्यालबाहिर हेरे। घाम डुबिसकेछ।

उनी भाइहरूलाई निद्रामै छाडेर वरपर छिमेकका घर गए। आमाको सोधखोज गरे। सबै नाजवाफ।

घर फर्के। भाइहरू निद्रामै थिए। ओछ्यानमा ढल्के।

एकछिनमा बाहिर खास्राकखुस्रुक आवाज आयो। मान्छेहरूको गाइँगुइँ सुनियो। उनी 'आमा आइछिन् कि' भनेर बाहिर निस्के।

छिमेकीहरू रहेछन्। सबै एकटकले उनैलाई हेरिरहेका।

'म त आमा आए भन्ठानेको,' उनले भने।

एकजना नजिक आयो। उनको टाउको मुसार्‍यो।

भन्यो, 'अब तेरी आमा आउँदिन बा।'

'भोलि आउने?' उनले सोधे।

...

सेतुको निधनपछि छिमेकी र आफन्तको सहारामा तीन भाइले दुई दिन काटे। तेस्रो दिन शेरबहादुर गुजरातबाट फर्के। उनी २०६२ को चैते दसैं मान्न घर फर्कन खोजेका रहेछन्। सेतुले नै 'नआए हुन्छ' भनेपछि रोकिएछन्।

'चैते दसैंमा आउँ भन्दा नआऊ भनिन्। मुख पनि देख्न पाइनँ,' उनले भने, '(घटनाको) एक हप्ताअघि ६ हजार भारु पठाइदिएको थिएँ। आउँदा सबै पैसा बाकसमै रहेछ।'

छिमेकी मायाराम विकका अनुसार जनआन्दोलनमा सामेल भएको त्यो सेतुको पहिलो दिन थियो। अघिअघि आन्दोलनका कुरा गर्दा उत्साही भएर सुन्थिन्। तर, सडकमा ओर्लेकी थिइन।

त्यो दिन के भयो, निडर भएर सामेल भइन्। प्रहरीले अश्रुग्यास हान्दा अरू सबै भाग्न खोज्थे, उनी झन् अगाडि बढ्थिन्।

'आन्दोलनकारीहरू ज्ञानेन्द्रको सालिक ढाल्दै थिए, पुलिसले अश्रुग्यास हान्यो। एउटा सेल उनको मुखैमा लाग्यो,' मायारामले भने, 'उनी भुइँमा ढलिन्। अड्कीअड्की सास फेरिरहेकी थिइन्। पानी, पानी भनिन्। तर, पानी कहाँ पाउनु!'

सबैले उठाएर एम्बुलेन्समा अस्पताल दौडाए। बाटैमा उनको सास गयो।

यता न्युरोडमा आन्दोलनकारीले ज्ञानेन्द्रको सालिक ढालेरै छोडे।

...

त्यही ठाउँमा सेतु बिकको सालिक छ, कपडाले बेरेको। छ महिनाअघि अज्ञात समूहले तोडफोड गरेको थियो। चोकको नाम पनि फेरेर सहिद सेतु बिक चोक राखिएको छ।

कान्छो छोरा सुमन सरकारी पहलमा सुर्खेतको एसओएस बालग्राममा पढ्छ। सागर र आशिष घरभन्दा साढे दुई किलोमिटर टाढा खजुराको स्कुल जान्छन्। आशिष ३ कक्षा, सागर १। छ महिना अघिसम्म दुवै बोडर्स थिए। शुल्कमा विवाद भएपछि घर फर्किए।

जिल्ला शिक्षा कार्यालयले दुवैलाई वर्षको २४ हजार रुपैयाँ सहयोग गरिरहेको छ। सरकारले दिएको १० लाख रुपैयाँ पनि तीन छोराहरूको उमेर पुगेपछि निकाल्न मिल्नेगरी बैंकमा जम्मा छ। जिल्ला प्रशासनले हरेकमहिना दिने पाँच हजार रुपैयाँले घरखर्च चलाउन गाह्रो परेको उनी गुनासो गर्छन्। 'आफूलाई अहिल्यै फाटिमर्नु भएको छ, बैंकमा छ भनेर के गर्नू!' उनी भन्छन्।

आर्थिक समस्याले पिरोलेपछि शेरबहादुर पहिले सहयोगको बाचा गरेकाहरूका ढोका ढक्ढक्याउन पनि पुगे। तर, ती कुनै न कुनै बहानामा टक्टकिने गरेको उनको अनुभव छ।

'म छोराहरूलाई उच्च शिक्षासम्म सित्तै पढाइदिन्छु भन्ने एउटा स्कुलमा गएँ, तर ८०/९० हजार चाहिन्छ भन्यो,' उनी भन्छन्, 'त्यति तिर्ने हैसियत भए आफ्नै छोरछोरीका लागि हात फैलाउनुपर्थ्यो र!'

सेतुको निधनपछि शेरबहादुरले अर्काे बिहे गरेका छन्, बुद्धि विकसँग। कान्छी श्रीमतीबाट अर्को छोरा जन्मिसक्यो।

...

सेतुका तीनै छोरा बुझ्ने भइसके। कम्तिमा 'अब तेरी आमा आउँदिन' भन्दा 'भोलि आउलान्' भनेर अल्मलिँदैनन्।

'सहिद हुनुभो,' आशिष भन्छन्, 'मलाई थाहा छ।'

'के सम्भि्कन्छौ त बढी?'

'आमाले 'भाइहरूलाई हेर्दै गर्नू' भन्नुभएको थियो।'source: nagarik news

No comments: