नेपालका एकमात्र अरबाजो बाजाका हस्ती ८६ बर्षीय मोहन बहादुर गन्धर्व र अरबाजोको बारेमा निर्माणाधिन बृत्तचित्रको भर्खरै पोखरावाट छायाँकन गरेर बृत्तचित्र टोली दमक फर्किर्एको छ । सारंगीको माउबाजा मानिने यो बाजा नेपालमा एउटा सँग्राहलयमा र अर्को स्रष्टा स्वयमसँग मात्र रहेको छ । बाख्राको आन्द्रालाई सुकाएर मैन दलेपछि यो बाजाको तार तयार हुन्छ भने यो बाजामा चारवटा तारहरु रहन्छन् । गीतार जस्तै प्रकारले यो बाजामा तारलाई हिर्काइन्छ भने अर्को हातले माथिवाट तारहरु खेलाए ३६ प्रकारको ताल दिने र तलवाट हिर्काए धुन दिने गर्दछ ।दैनिकमा गन्धर्व र अरबाजोका बारेमा पर्वतका पत्रकार लालधन शर्माले पहिलोपटक समाचार सम्प्रेषण गरेका थिए । त्यस समाचारमा ८६ बर्षीय गन्धर्वले दुःख मान्दै भनेका थिए “यो अरबाजो बाजा बजाउने र सिक्न चाहने कोही पनि भएनन् । सरकारले पनि यसको वास्ता गरेन । अब म मरेपछि यो बाजाको बिजोग हुन्छ । त्यसैले यो बाजा जलाउँछु ।” सो समाचार दार्जिलिङ्गवाट संगीत प्रशिक्षण दिन नेपाल आउनु भएका बरिष्ठ संगीतकार मणिकमल क्षेत्रीले पढेपछि, कलाकर्मी प्रकाश आङ्देम्बेसँगको सहकार्यमा यो बाजा र स्रष्टालाई कसरी बचाउन सकिन्छ भनि पोखरातर्फ गएका थिए । “लगभग दुइसय बर्ष पूरानो अरबाजोलाई नयाँ ढङ्गले निर्माण गर्ने गराउने र आधुनिकिकरण गराउँदै अब नयाँ गीतहरुमा प्रयोग गर्दै लाने साथै कलाकार गन्धर्वलाई पूर्वाञ्चलको दमकमा लिएर गई अरबाजोका बारेमा नयाँ पुस्तामाझ कार्यशाला गराउने निधो भएको छ ।” सँगीतकार क्षेत्रीले भने । यिनै बिषयलाई आत्मसाथ गर्दै अरबाजोका नालीबेली र गन्धर्वका गायकी, दुःखेसो आदि कुरालाई नै बृत्तचित्रको बिषय बनाएको कुरा निर्देशक तथा छाँयाकार प्रकाश आङ्देम्बेले बताए । ७५ प्रतिशत छायाँकन सकिएको र बाँकी सम्पादनकार्य मात्र रहेको यो बृत्तचित्रको उद्देश्यमाथि प्रष्ट पार्दै निर्देशक आङ्देम्बेले भने “हाम्रो पहिचान र अस्तित्व भनेका नै हाम्रो संस्कृति र कला हुन् । यिनलाई युगौंदेखि सँगाल्ने गन्धर्व स्रष्टा र वाद्यवादनको वास्तविकता नेपाली समाज, विश्वसमुदायमा पुर्याउनका लागि यो बृत्तचित्र देश विदेशमा प्रदर्शन गरिनेछ साथै यसवाट उठेको रकम कलाकार र अरबाजोकोलागि खर्च गरिनेछ ।” बृत्तचित्रमा गन्धर्व र नेपालका लोक सँस्कृतिमा पि.एच.डि. डा. कुसुमवाकर न्यौपाने, बरिष्ठ साहित्यकार सरुभक्त लगायत स्थानीय ब्यक्तिहरुको भनाइलाई पनि समावेश गरिएको छ । लगभग डेढलाखको लगानीमा तयार हुने यस बृत्तचित्र अबको तीन महिनाभित्रमा बजारमा आउने कुरा पनि आङ्देम्बेले बताए । यसकार्यका लागि प्राज्ञ डा. गोविन्दराज भट्टराई, स्रष्टा तिर्थ श्रेष्ठ, कान्तिपुरकर्मी देवेन्द्र भट्टराई, अनमोलमणि पौडेल र भुटानका सञ्चारकर्मी अर्जुन प्रधानले साथ सहयोग पुर्याएका छन् ।
No comments:
Post a Comment