Pages

Subscribe:

खोलाले बगाउँदा महिलाको मृत्यु

अजित तिवारी, विराटनगर, साउन ६ - मोरङको लेटाङ हुँदै बगेको चिसाङ खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। बाढीले बिस्थापित हुनेहरुको संख्या मोरङमा पाँच हजारको हराहारीमा पुगेको प्रहरीको अनुमान छ। मंगलवारदेखि परेको लगातार वर्षाले सिंघिया खोलामा आएको बाढीले विराटनगरको १, २ र ११ वडाको ५ सय भन्दा बढी घर डुवानमा पर्दा झण्डै दुईहजार बासिन्दा बिस्थापित भएका छन्। ‘बाढीले मोरङभरिमा बिस्थापित हुनेहरुको संख्याको यकिन तथ्यांक नआइसकेपनि ५ हजारको हराहारीमा पुगेको छ'-मोरङ प्रहरीका डिएसपी रेवती ढकालले नागरिकन्यूजसंग भने।

प्रहरीका अनुसार श्रीमान् आसबहादुर मगरसंग चिसाङ खोला तर्नेक्रममा ३१ वर्षिया मिनाको डुबेर मृत्यु भएको छ। वाढीले बगाएर वेपत्ता भएकी मिनालाई प्रहरी र स्थानियवासीले खोजी गर्ने क्रममा मृत फेला पारेको मोरङ प्रहरीले जनाएको छ। बाढीग्रस्त क्षेत्रमा सशस्त्र र जनपद प्रहरीको तैनाथी बढाइएको छ।

पहाड र चुरे क्षेत्रलाई नछोएको सिंघिया खोलामा विराटनगर, टंकिसिनुवारी र सहायक नहरहरुको पानी पसेपछि बाढी आउँछ। विराटनगर क्षेत्रमा पछिल्लो समयमा एकसय ७० मिलिलिटर भन्दा बढी पानी परेको छ। जुन यो मनसुनको सबैभन्दा बढी वर्षा हो।

दैबी प्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेको मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले बाढीबाट बिस्थापितहरुको बसोवास र राहतको व्यवस्था गरिएको बताए। बाढीग्रस्तक्षेत्रमा रेडक्रस सोसाइटीका स्वयंसेवक प्रहरीसंगै खटिएको छ।
बिभिन्न खोलामा आएको बाढीले मोरङका शहरी क्षेत्र विराटनगरलाई समेत डुबाएको छ।

No comments: