Pages

Subscribe:

शरणार्थी विद्यार्थीहरुको पढ्ने जाँगर घट्दो: अध्ययन

तेस्रो मुलुक पुन:स्थापनाको प्रक्रिया शुरु भएपछि पूर्वी नेपालका विभिन्न शिविरहरुमा बस्दै आएका भूटानी शरणार्थी विद्यार्थीहरुमा पढने मानसिकता हराउँदै गएको एउटा अध्ययनले देखाएको छ।

शरणार्थीको शैक्षिक गतिविधि हेर्दै आएको संस्था कारितास नेपालका अनुसार आफ्ना शिक्षकमाथि जाइलाग्ने परिपाटि समेत कतिपय विद्यार्थीहरुमा बढेको छ।

गत जनवरी महिनामा भएको कक्षा १० को सेन्ट अप परीक्षामा १५०० भन्दा बढी भूटानी शरणार्थी विद्यार्थीले परीक्षा दिएका थिए।

तर ती मध्ये २०० भन्दा कम विद्यार्थी मात्र सबै विषयमा उत्तीर्ण भएका थिए।

‘धेरै परिवर्तन’

शाखाका प्रमुख फादर अमलराजले भने, "उनीहरु अर्कै संसारमा जाँदैछन्, कक्षामै आउदैनन्, आएपनि आधादिनमै भाग्छन्।”

नपढेपनि तेस्रो देश जान पाइहालिन्छ भन्ने मानसिकता बोकेका शरणार्थी विद्यार्थीहरुका बाबु आमापनि परिस्थितिलाई सुधार्न सक्ने अवस्थामा नरहेको फादर अमलराजको भनाइ छ।

उनका अनुसार शरणार्थी विद्यार्थीहरुको व्यवहारमा धेरै परिवर्तन आएको छ।

“यतिसम्म कि उनीहरुका बाबु आमाले पनि उनीहरुलाई पकडमा ल्याउने अवस्था छैन।"

उनका अनुसार शरणार्थी विद्यार्थीहरुमा नपढ्ने प्रवृति मात्र होइन उनीहरु आफ्ना शिक्षकहरुमाथि पनि जाइलाग्न थालेका छन्।

‘रक्ताम्य’

उनले भने, "एकजना विद्यार्थीले सहायक प्रधानाध्यापकलाई मुक्का हाने, शिक्षक रक्ताम्य भए।”

सन् २००७को अक्टोबर महिना यता बर्षेनी ५,०००का दरले शरणार्थी विद्यार्थी तेस्रो देश पुनर्वासमा जाने क्रम छ भने धेरै शिक्षकहरुपनि अमेरिका लगायत तेस्रो देशहरुमा पुन:स्थापित भएका छन्।

विद्यार्थीको घट्दो संख्या र शिक्षक अभावका कारण शरणार्थीका लागि संचालित शैक्षिक प्रणालीनै अस्तव्यस्त हुने अवस्थामा पुगेकोमा कारितास नेपालले चिन्ता व्यक्त गरेको छ।

No comments: